स्वास्थ्यचौकी पहिरोबाट जोगाउन आएको ३० लाख बजेट मुख्यमन्त्री शाहीले आफ्नै घर जोगाउन खर्च गरे

हुम्ला । स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन आएको ३० लाख बजेटबाट कर्णालीका मुख्यमन्त्री (त्यतिखेर भइसकेका थिएनन्) जीवनबहादुर शाहीले आफ्नै घरछेउमा ग्याभिन जाली लगाएका छन् । त्यसका लागि उनले आफ्नै भाइबुहारीलाई कार्यविधिविपरीत उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए ।

हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ खर्पेलस्थित स्वास्थ्यचौकीको ठीक माथि शाहीको घर छ । उनकै पहलमा पारिखोला बस्ती र स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रमको रकम आएको थियो । तर, बजेट आफ्नै घरको सुरक्षामा खर्च गरे । आफ्नो घर हुँदै स्वास्थ्यचौकीमा पहिरो बग्ने भएकाले माथि नै ग्याभिन जाली लगाएको स्पष्टीकरण शाहीले दिएका छन् ।

पूर्वाधार निर्माणका आयोजनामा खर्चने गरी कर्णाली सरकारले गत आर्थिक वर्षको बजेटमार्फत प्रदेश पूर्वाधार विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । सो रकम प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको सहकार्यमा उपभोक्ता समितिमार्फत खर्चने कार्यविधि छ । तर, शाहीले ०७७ पुसमा आफ्नै भाइबुहारी मधु शाहीको अध्यक्षतामा उपभोक्ता समिति बनाई बजेट निकासा गराएर आफ्नै घर सुरक्षित गरेका हुन् ।

मुख्यमन्त्री शाहीले बस्ती नै जोखिममा रहेकाले आफ्नो घरछेउमा ग्याभिन जाली लगाएर स्वास्थ्यचौकीसमेत जोगाएको दाबी गरे । ‘मेरो घरभन्दा मुनि स्वास्थ्यचौकी छ । नजिकै खोला छ । तलबाट भत्कन लागेपछि स्वास्थ्यचौकी जोगाउन मेरो घरमा ग्याभिन जाली हालिएको हो,’ उनले भने । प्रत्येक नागरिकप्रति राज्यको दायित्व हुने जिकिर उनको छ । ‘मेरो घरचाहिँ भत्कियोस् ? जीवन शाहीको घर हो भन्दैमा भत्कनैपर्ने ? पहिरो रोक्न राज्यले सहयोग गर्नुपर्दैन ?’ उनले नयाँ पत्रिकासँग भने ।

शाहीले नै खार्पुनाथ– ५ को पारिखोला बस्ती र वडा स्वास्थ्यचौकी पहिरोको जोखिममा रहेको भन्दै नियन्त्रणका लागि पूर्वाधार बनाउने योजना अघि सारेका थिए । १३ पुस ०७७ मा उनीनिकट स्थानीय भेला भई मधु शाहीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिमा उपाध्यक्ष वर्मादेवी सिंह, सचिव विशे कामी, कोषाध्यक्ष कलमती शाही तथा सदस्यमा धना शाही, गोर कामी र शेरबहादुर कामीलाई राखिएको थियो ।

समितिले १४ पुसमा खार्पुनाथ गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा योजना सम्झौताका लागि पूर्वाधार विकास कार्यालयलाई सिफारिस गरिदिन पत्र लेखेको थियो । १५ पुसमा वडाध्यक्ष भीमराज शाहीको अध्यक्षतामा बसेको बैठकले पहिरो नियन्त्रणको योजना छनोट भएको भन्दै उपभोक्ता समितिसँग सम्झौताका लागि पूर्वाधार विकास कार्यालयलाई सिफारिस गरेको थियो । वडा कार्यालयले योजना सञ्चालनका लागि उपभोक्ता समितिका अध्यक्ष मधु शाही, सचिव विशे कामी र कोषाध्यक्ष कलमती शाहीको नाममा राष्ट्रिय वाणिज्य बैंकको सिमकोट शाखामा संयुक्त खाता खोल्ने प्रक्रियाका लागि पनि अनुरोध गरेको थियो ।

सोही पत्रका आधारमा पूर्वाधार विकास कार्यालयले पारिखोला बस्ती र वडा स्वास्थ्यचौकी पहिरो नियन्त्रण योजनाका लागि ३० लाख निकासा गरेको थियो । तर, रकम स्वास्थ्यचौकीको पहिरो नियन्त्रणका लागि खर्च नभएर शाहीको घरछेउमा ग्याभिन जाली लगाउन खर्च गरियो ।

उपभोक्ता समितिले सम्झौताअनुसारको ३० लाखमध्ये २९ लाख ४० हजार भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । ६० हजार रुपैयाँ कन्सल्टेन्सी शुल्कका रूपमा काटिएको छ । उपभोक्ता समितिले पहिलो किस्ताबापत नौ लाख ३४ हजार र दोस्रो किस्ताबापत १७ लाख ६१ हजार लगेको कार्यालयको रेकर्डमा छ । सम्झौताको कुल रकममध्ये ४४ हजार दुई सय आयकरमा काटिएको छ ।

कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ मा कार्यक्रमको कार्यान्वयन र व्यवस्थापनको कार्यलाई समन्वय र सहजीकरण गर्न निर्वाचित प्रदेश सांसदको संयोजकत्वमा पाँच सदस्यीय परामर्श समिति रहने उल्लेख छ ।

उपभोक्ता समितिकी अध्यक्ष मधुले पहिरोको जोखिममा रहेको आफूहरूको घरजग्गा बग्दा तल रहेको वडा स्वास्थ्यचौकी पनि बग्ने भएकाले ग्याभिन जाली लगाएर सुरक्षित गरिएको बताइन् । ‘वडा स्वास्थ्यचौकीभन्दा माथि रहेको हाम्रो घर जोखिममा पर्‍यो । स्याउको एउटा बुटा त खस्नै लागेको थियो । हाम्रो घरजग्गा बग्दा स्वास्थ्यचौकी पनि लड्ने अवस्था रहेकाले ढुंगा भरेर ग्याभिन जालीले सुरक्षित गरिएको हो,’ उनले भनिन् ।

उपभोक्ता समिति गठनमै बदमासी
मुख्यमन्त्री शाहीले उपभोक्ता समिति गठनमै बदमासी गरेका थिए । उपभोक्ता समितिको लाभग्राही समुदायबाट सार्वजनिक निर्माण कार्य गराउनेसम्बन्धी कार्यविधि छ । निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका कुनै तहको प्रमुख वा पदाधिकारी, बहालवाला सरकारी कर्मचारी, शिक्षक, सुरक्षा निकायमा कार्यरत व्यक्ति उपभोक्ता समितिमा रहन नसक्ने व्यवस्था कार्यविधिमा छ । तर, उपभोक्ता समितिको अध्यक्ष बनाइएकी मुख्यमन्त्री शाहीकी भाइबुहारी मधु बालमन्दिर माध्यमिक विद्यालय सिमकोटकी स्थायी शिक्षिका हुन् ।

मधुले स्थानीयले आग्रह गरेकाले आफू उपभोक्ता समितिको अध्यक्ष बसेको बताइन् । ‘म शिक्षिका मात्र होइन, उपभोक्ता पनि हुँ । वरपरका छिमेकीको घर पनि समस्यामा रहेकाले समुदायले नै आग्रह गरेपछि म उपभोक्ता समितिको अध्यक्ष बसेकी हुँ,’ उनले भनिन्, ‘उपभोक्ता समितिमा को बस्यो भन्ने भन्दा पनि काम भयो कि भएन भन्ने मुख्य कुरा हो ।’ –नयाँ पत्रिकाबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री