सहिद सप्ताहको चौथो दिन आज : सहिद धर्मभक्त माथेमाको सम्झना गरियाे

सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरि सम्झना गरिएको छ। प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरि उनलाई स्मरण गरिएको हाे।

माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ। आज उनको उक्त शालिकमा नै माल्यापर्ण गरेर स्मरण गरिएको हो ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल तथा वडा सदस्य र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो। कोरोना महामारी भएकाले यस वर्ष सहिद सप्ताहका कार्यक्रम सीमित व्यक्तिकाबीच आयोजना भइरहेका छन् ।

विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो।

काठमाडौँ महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ। यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर नेतृत्वकाे सरकारले विसं १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेको थियो । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, सात दिनपछि माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस