नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)लाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन सत्तारुढ दल उद्दत रहेको आरोप लगाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिना पुगेको अवसरमा एमाले अध्यक्ष केपी ओलीले जारी गरेको १५ बुँदे विज्ञप्तिमा यस्ताे आरोप लगाएको हाे।
एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा दर्ता भए पनि टेबुल गरिएको छैन। पास गर्ने नगर्ने विषयमा दलहरूबीच मतभेद देखिँदै आएको छ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन्। ओलीले आइतबार विज्ञप्तिमार्फत सरकार असफल दिशामा उन्मुख भएको आरोपसमेत लगाएका छन्।
उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत रहेको बताउँदै स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गरेका छन्।
देशको आर्थिक अवस्था संकट अवस्थामा रहेको भन्दै आर्थिक परिसूचक सबै ओरालो लागेको दाबी पनि गरेका छन्। उनले अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले विस्थापन गरी नयाँ कार्यक्रम घोषणा गरे पनि सबै असफल बनेको उल्लेख गरेका छन्।




