सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५९ प्रतिशतले बढ्यो

तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामासमेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख मात्र नाफा आर्जन गरेको थियो ।

यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ। समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २२ करोड २४ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाखको उचाई चुमेको हो । यसरी अघिल्लो वर्षको तुलनामा बैंकले संचालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ हानेको छ।

व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाखमाथि पुगेको छ।

यस्तै, अघिल्लो वर्ष ६५ करोड ९५ लाखमा सीमित रिजर्बको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख पुगेको छ भने चुक्तापुँजी पनि २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ ।

समीक्षा अवधिमा सांग्रिला बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरि ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो ।

नाफामा भएको राम्रो बढोत्तरीसँगै सांग्रिला बैंकको दोश्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म इपीएस १२ रुपैयाँ ६५ पैसा रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको हो ।

बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ । परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ।

यस्तै, प्रतिसेयर नेटवर्थ रु.१३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस