काठमाडौँ । अस्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । सिड्नीस्थित लेनकोभमा २२ वर्षीय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् ।
कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अस्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासीय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन शुरु गरेको छ ।
संघका युवा संयोजक विक्रम दाहालले शव पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।
मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफू आश्चर्यमा परेको बताए । निकै मेहनती र मिजासिली स्वभावकी सुष्मिताको असामयिक निधनले आफू निकै स्तब्ध भएको भट्टले बताए ।




