‘खोप नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या’

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ । तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने । पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए ।

डा.अधिकारीका अनुसार खोप लिएकाहरूमा भन्दा नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या बनाउँछ भने मृत्युको जोखिम १७ प्रतिशत हुन्छ ।

अहिले नेपालमा दुवै खाले भेरिएन्टको संक्रमण देखिए पनि खोप लिएका कारण अस्पताल भर्नादर कम भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए । उनले भने, ‘डेल्टाको संक्रमण पनि छ तर खोप लिएको जनसंख्या बढेको र जोखिममा रहेको समूहले खोप लिइसकेको हुनाले जटिल समस्या देखिने बिरामी कम छन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप