नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिले आफूखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन्।
सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनि नसकेको बताए। सभापति शेरबहादुर देउवाले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए। सभापति यसरी नै हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताए।
“उहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै।”
एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ कांग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए। कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नेसमेत दोहोर्याए।




