एक करोड २२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियाेगमा पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।
प्रहरीले भुजेललाई यहि बुधवार काठमाडौं कालीमाटी र भण्डारीलाई बिहीवार हिजाे काठमाडौं महानगरपालिका-९, एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनेर प्रलोभन देखाउने गरेको प्रहरीकाे भनाइ छ ।
प्रहरीका अनुसार फरक मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रूपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रूपैयाँ र अन्य मानिसहरूबाट थप रकमसमेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुलेकाे छ ।



