काठमाडाैँ । चितवनमा हुने नेकपा एमालेको आसन्न महाधिवेशनका लागि ६ हजार पाँच सय कोठा बुक भएको छ । एमालेको महाधिवेशनका कारण सौरहा आसपासका ६५ सय बेड बुकिङ भएसँग स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औं महाधिवेशन गर्दैछ ।
१० गतेको उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने तयारी नेकपा एमालेको छ । बन्द सत्रमा दुई हजार प्रतिनिधि, विदेशी प्रतिनिधि, हजार बढी स्वयंसेवक, स्वास्थ्यकर्मी, पत्रकार गरी ३५ सय बेड बुकिङका लागि पार्टीले व्यवसायीसँग सम्झौता गरिसकेको जनाएको छ । ‘३५ सय बेड दिने गरी एमालेसँग सम्झौता भएको छ’, क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष दीपक भट्टराईले सुनाए, ‘३५ सय जनाको लागि दुई करोडमा सम्झौता गरेको हो । सम्झौताअनुसार २ छाक खाना र ३ रात बस्न पाउने छन् । यो रकम एमाले पार्टीले रकम तिर्छ ।’

एमालेले आफ्ना प्रतिनिधिको लागि मंसिर १०, ११ र १२ गतेको लागि होटल बुकिङ गरेको छ । पार्टीले ३५ सय बेड बुकिङबाहेक व्यक्तिगत बुकिङ समेत राम्रो रहेको व्यवसायीहरुको भनाइ छ । ‘पार्टी बाहेक अन्यहरुको लागि बुकिङ खुल्ला नै छ । सौरहा आसपासका होटल प्याक भइसकेका छन्’, चितवन फरेस्ट रिसोर्टका सञ्चालक समेत रहेका भट्टराईले भने, ‘एमालेका कार्यकर्ता, पत्रकारहरुले व्यक्तिगत रुपमा होटल बुकिङ गरिरहेका छन् ।’
सौरहा आसपासमा करिब ६५ सय बेड छन् । एमालेले नारायणी किनारामा उद्घाटन सत्र गरे पनि बन्द सत्र सौरहामा गर्दैछ । सौरहा आसपासमा ६५ सय बेड बुकिङ भएसँगै अब कोठा पाउन अप्ठ्यारो रहेको व्यवसायीले बताएका छन् ।
मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ ।
मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए ।
उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए । ९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै शुरु भइसकेको उनले जानकारी दिए । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उनले भने ।
१० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताए । गैंडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेल चोकबाट र्याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताए । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिए । नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन् । जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिइन् ।




