काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानून व्यवसायीहरूलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरूले बिहीबार बार परिसरभित्रै प्रवेश गरेर वकिलहरूलाई ‘कालो कोट च्यात्ती दिने’ र कुट्ने धम्की दिएका थिए । दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो ।
ढकाल काठमाडौँ महानगरपालिका-६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनफहरा नगरपालिका-६ मूलपानीका हुन् । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् ।
आन्दोलनमा जारी
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध जारी आन्दोलन बृहत् बन्दै जाने भएको छ । उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको आन्दोलनमा ‘बृहत् नागरिक आन्दोलन’ सहित विभिन्न सङ्घसंस्था पनि मिसिने भएका हुन् ।
नेपाल बारको आन्दोलनमा ऐक्यबद्धतासहित जनताका लागि न्याय निर्वाध र निशूल्क निश्चित हुने व्यवस्था तथा जवाफदेही राज्यप्रणालीनिम्ति बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघसहित नागरिक/पेशागत शक्तिहरूको पहिलो छलफल। सहकार्य र साझेदारी बढाउँदै साझा आन्दोलन गरिने।
— narayan wagle (@narayanwagle) November 18, 2021
जबराले मन्त्रिमण्डलमा भाग खोजेको कुरा सार्वजनिक भएपछि उनले गरेका अन्य गल्ती पनि औँल्याउँदै न्यायालय शुद्धीकरणका लागि भनेर नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन हप्तायता सर्वोच्च परिसरमा वकिलहरूले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिकृया दिनुहॊस