आज कर दिवसः स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख बढी

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ। व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यवसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन्। आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यवसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन्।

कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ। आव २०७७/७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो। यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो। आव २०७७/७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो।

आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ। यस्तै सोही अवधिमा रु दुई खर्ब ७७ करोड आयकर र रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क सङ्कलन भएको छ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु रु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा रु २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्योट भएको विभागले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री