मनाङ । मनाङको तिलिचो ताल घुम्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने वर्ष २३ का प्रवीण थापाको बिहीबार लेक लागेर मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली कात्तिक २१ गते काठमाडौंबाट हिंडेका थिए ।
लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । संसारकै अग्लो तिलिचो ताल (४,९१९ मि.) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो । तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्प पुगेका थापालाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फर्किएको थियो ।
मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएकोे हो । तल्लो क्षेत्रबाट सिधै हिमाली क्षेत्रमा जाने भएकाले एकैचोटी उचाइमा जाँदा लेक लाग्ने समस्या हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए ।




