काठमाडौँ । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राति ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो ।
दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरी तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सीमावर्ती भारीतय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किने क्रममा उक्त दुर्घटना भइ चारै जनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् । केहि दिनअघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरी फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।




