ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएको छ। शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेसँगै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो।
ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन्। नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन्। बाँकी समय दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। तर, फाइनल पुग्दै ललितपुर भने राष्ट्रिय महिला लिगको लागि छनोट भयो।
अहिले जारी दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेकाे छ। जसको विजेता पनि राष्ट्रिय लिगको लागि छनोट हुनेछ। फाइनल खेल आइतबार हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ।
३१ टोली समभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ। महिला लिगमा विभागीय तीन क्लबसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिकृया दिनुहॊस