गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर भएकाे बताएका छन्।
सोमबार जनकपुर आएका गृहमन्त्री खाणले नेपाली कांग्रेस धनुषाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकार विस्तारमा ढिलाइ भए पनि सरकारले जनताको चाहना अनुसारका कामलाई अगाडि बढाइरहेको बताए।
विधिको शासन र संविधानको रक्षाका निम्ति निर्माण भएको सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर रहेको मन्त्री खाणले बताए। संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरेर सबै जनतालाई मान्य हुने गरी संविधान बनाउने पक्षमा वर्तमान सरकार रहेको मन्त्री खाणको भनाइ थियो।
केही दिनअघि आएको बाढी-पहिरोले ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्थासमेत गरेको मन्त्री खाणले बताए। सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको खाणले जनाए।



