काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) को प्रयोग गरिने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको जनाइएको छ । त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिका सह संयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदैछ । ‘एक प्रतिनिधिलाई मतदान गर्नका लागि कम्तीमा आधा घण्टा लाग्ने अनुमान गरिएको छ’ पाण्डेले भने, ‘त्यसैले सहज रुपमा मतदान हुन सकोस् भन्नेर एक सय वटा इभिएम राखिने छ । त्यसका लागि सम्बन्धित कम्पनीलाई तयारीका लागि भनिसकेका छौं ।’
नवौं महाधिवेशनमा एभिएमको प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि नेतृत्वको चुनावमा मतपत्रकै व्यवस्था गरिएको थियो । निर्वाचनको परिणाम आउनक लागि एक साता लागेको थियो ।
दशौं महाधिवेशनमा १,९९९ जना प्रतिनिधिको सहभागी हुनेछन् । गत महिना गोदावरीमा भएको विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।
एमालेले १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहाको हात्तिसारबाट नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने सह संयोजक पाण्डेले बताए ।
‘पदाधिकारीहरुको चयनका लागि सर्वसम्मत गर्ने तयारी भए पनि केन्द्रिय सदस्यहरुमा भने प्रतिस्पर्धा हुने देखिन्छ’ पाण्डेले भने, ‘अहिले नै सदस्यमा कति उम्मेदवार हुन्छन भनेर भन्न सक्ने अवस्था छैन । तर धेरै आकांक्षी हुने देखिन्छ । यो विषयले प्रतिनिधि छनोटको सकिएपछि आकार लिन शुरु गर्छ । पहिले पनि त्यस्तै हुँदै आएको हो ।’
प्रतिकृया दिनुहॊस