दसैं तिहारमा मुस्ताङमा पैतिस करोडका च्याङग्रा विक्री

मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिए।

तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो।

अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो। निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन्। व्यापारीहरुले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ। यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन्।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन्। जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौंका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु. पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताए।

मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेषगरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ। च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस