काठमाडौँ । भारत राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको छ ।
सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनाएको छ । हिउँद याममा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । शुक्रबार वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा दिल्लीका केही भागमा ९९९ प्रतिघनमिटर थियो जुन वायु गुणस्तर नाप्ने मेसिनमा देखाउने सबैभन्दा ठूलो सङ्ख्या हो ।
त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो । वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा राम्रो मानिन्छ र ५१ र १०० बीचमा मात्रा सन्तोषजनक मानिन्छ ।
शहर प्रदूषणका कारण धुम्म छ भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए । भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो । संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन् । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् ।
दिल्लीको प्रदूषण सबैभन्दा बढी, काठमाडौँ १३औँ स्थानमा
दिल्लीमा हावाको स्तर खराब हुँदै एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान १०ः५९ बजेसम्म बढेर ५६१ पुगेको छ । किर्गिस्तानको बिश्केक २७९ एक्यूआईसहित दोस्रो, चीनको बेइजिङ १९६ एक्यूआईसहित तेस्रो, पाकिस्तानको लाहोर १९३ एक्यूआईसहित चौथो स्थानमा रहेको छ । बिहान ९ः३० बजेको रेकर्डअनुसार काठमाडौं भने १०४ एक्यूआईसहित १३औँ स्थानमा रहेको छ ।
दिल्ली असर नेपालसम्म
नेपालको तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेसँग तराई क्षेत्रमा पनि प्रदूषण बढेको हो ।
पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको मौसमविद् वरुण पौडेलले बताए । ‘खास गरी लामो समयसम्म पानी नपर्दा प्रदूषण बढ्ने गर्छ,’ उनले भने, ‘तर हिजो र आज भारतमा प्रदूषण बढेकाले त्यसको प्रभाव नेपालको तराई क्षेत्रमा देखिएको हो । उनको अनुसार अहिलेको प्रदूषणका लामो समय रहँदैन ।




