काठमाडौँ । शुक्रबार नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ । नेवार समुदायले आजको दिन हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँछन् । यस दिन नेवार समुदायले म्ह पूजा गर्छन् । म्ह पूजा अर्थात् शरीर पूजा गर्छन् । नेवार समुदायले म्ह पूजा विशेष महत्त्वका साथ मनाउँछन् ।
ललितपुरको मंगलबजारका ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार पनि म्ह पूजा गर्दै थिए । उनीसँगै सपरिवार म्ह पूजामा व्यस्त थियो । घरको दोस्रो तलाको झ्यालमा दियो बालेर तेस्रो तलामा म्ह पूजा गर्दै थिए । तर दियोबाट सल्केको आगाले लक्ष्मीकृष्णसहित परिवारका ४ जनाकाे ज्यान लिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार साँझ ६ बजेर ४५ मिनेटतिर बालिएको दियो पर्दामा सल्किएपछि आगलागी भएको प्रारम्भिक अनुमान छ । ‘पर्दामा सल्केर आगलागी हुँदा उक्त आगो ग्यास सिलिन्डरसम्म पुग्यो,’ एसएसपी बज्राचार्य भनिन्, ‘सिलिन्डर ग्यास विस्फोट भएपछि परिवारका चार जनाको घटनास्थलमै मृत्यु भयो ।’
आगलागीमा परी मृत्यु हुनेमा लक्ष्मीकृष्णसहित उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षीया बुहारी रन्जना र १० वर्षीय नाति निर्जलको मृत्यु छन् । प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घाइते छन् । ४२ वर्षीय छोरा नीरज र ३२ वर्षीया कान्छी छोरी सिर्जना घाइते भएका छन् ।
सिर्जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । भान्छासँगै जोडिएको अर्को घरमा पनि विस्फोटबाट क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस