काठमाडाैँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो । विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।
यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो । चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मूलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्ताहरुलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण कन्द, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
प्रतिकृया दिनुहॊस