चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ। आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन्।
मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए। मन्त्री खतिवडाले कोभिड–१९ को सुरुआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवादसमेत व्यक्त गरे।
नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताइन्। उनले महामारीका विरुद्धमा एक देशले अर्काे देशलाई एक आपसमा रेखदेख र सहयोगले दुई देशबीच थप मित्रता अझ प्रगाढ हुने बताइन्। उनले चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा खोप उपलब्ध गराउनेसमेत जानकारी दिइन्। उक्त तीन लाख मात्रा खोप शुक्रबार नेपाल आइपुग्नेछ।
यस्तै नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भइरहेको उनको भनाइ रहेको छ।
चीनबाट हालसम्म एक करोड ५९ लाख मात्रा खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए। उनले एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको बताए।
प्रतिकृया दिनुहॊस