इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ।
यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखामा गई इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछन्।
अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत इसेवा मनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ।
यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ। यसका साथै अलदार एक्सचेन्जको अलदार वर्कस एपबाट पनि चाँडै इसेवा मनी ट्रान्सफरको सेवा सुचारु हुनेछ।
उक्त सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ।’




