परीक्षा बोर्डका प्रदेश प्रमुख तानिए, उत्तरपुस्तिका परीक्षणमा अनियमितताको आरोप

काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ विराटनगरका प्रमुख डम्बर बतासलाई बोर्डले काठमाडौं सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

बतासले निजी विद्यालयका उत्तरपुस्तिका सम्बन्धित विद्यालयकै शिक्षकलाई परीक्षण गर्न दिएर अनियमितता गरेको सार्वजनिक भएपछि बोर्डको केन्द्रीय कार्यालयमा सरुवा गरिएको हो । उनीमाथि छानबिन गर्न बोर्डका सदस्य तथा शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

बोर्डले प्रदेश कार्यालयहरुमा परीक्षण केन्द्रहरु तोकेर उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था मिलाएको थियो । बोर्ड स्रोतका अनुसार बतासले विराटनगरस्थित मेरिल्यान्ड स्कुलका शिक्षकलाई आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिएका थिए ।

परीक्षण अधिकृत सीमा राईको स्वीकृतिबिनै अंग्रेजी बिषयको उत्तरपुस्तिका आफ्नै विद्यालयका शिक्षकले परीक्षण गरेको पाइएपछि विवाद भएको थियो । ती उत्तरपुस्तिका पुनः परीक्षण गर्दा शिक्षक गणेश दाहालले अस्वाभाविक अंक दिएको भेटिएको विराटनगर बोर्ड कार्यालयका एक कर्मचारीले बताए । उनले परीक्षण गरेको एक सयभन्दा बढी उत्तरपुस्तिका पुनः परीक्षण गरिएको बोर्डले जनाएको छ ।

विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा प्रदेश १ को उत्तरपुस्तिका परीक्षण गर्ने केन्द्र तोकिएको छ । असोज १६ देखि सुरु भएको परीक्षणमा प्रमुख बतासले नै अनियमितता गरेको आरोप लागेको हो । उनी बोर्डका पूर्वपरीक्षा नियन्त्रकसमेत हुन् । मेरिल्यान्डलगायत अन्य ठूला निजी विद्यालयको उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयकै शिक्षकलाई परीक्षण गराउन दिएको त्यहाँका कर्मचारीले बताए ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश कार्यालयबाट गुनासो आएपछि बतासलाई केन्द्रमै हाजिर गराएर निमित्त प्रमुख तोकिएको जानकारी दिए । प्रदेश १ का सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले घट्नाको सत्यतथ्य छानबिन गरी कारबाहीको माग गरेका छन् ।

भदौ ३१ देखि असोज ८ सम्म विद्यालयले पढेकै विद्यालयमा कक्षा १२ को परीक्षा सञ्चालन गरेका थिए । कोभिडका कारण होमसेन्टरमा नै परीक्षा सञ्चालन गरे पनि बोर्डले उत्तरपुस्तिका फरक÷फरक विद्यालयका शिक्षकबाट परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गतवर्ष सम्बन्धित शिक्षकलाई परीक्षण गर्न दिँदा जथाभावी अंक दिएर ४ मा ४ जीपीए ल्याउनेसहित उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भएको थियो ।

विराटनगरमा भने निजी विद्यालयका उत्तरपुस्तिका सोही विद्यालयका शिक्षकलाई परीक्षण गर्न दिइएको बोर्डका कर्मचारी बताउँछन् । तर, सदस्यसचिव अर्यालले शंका लागेका उत्तरपुस्तिका पुनः परीक्षण गरिएको र बोर्डले सम्परीक्षण समेत गर्ने बताए । ‘लगभग देशभरका उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ, बोर्डले सम्परीक्षण गर्दै इन्ट्रीको काम गरिरहेको छ,’ उनले भने । बोर्डले मंसिर पहिलो साताभित्र नतिजा प्रकाशन गर्ने समयतालिका बनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण संक्षिप्त परीक्षा लिइए पनि यसपालि शतप्रतिशत पूर्णांकमा परीक्षा सञ्चालन गरिएको थियो । ४ हजार ३ सय १५ विद्यालयका ३ लाख ७१ हजार परीक्षार्थी सहभागी थिए । वैशाखमा तय भएको परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । पुनः साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय भए पनि सीसीएमसीको सिफारिसमा रोकिएको थियो । कक्षा १२ को नतिजा प्रकाशित भएपछि मात्र विश्वविद्यालयहरुमा स्नातक तहको नयाँ भर्ना र पठनपाठन सुरु हुन्छ । कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस