नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन्। नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज चितवनमा उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन्।
पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनु पर्छ। प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनै पर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए।
पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए। उनले भने, “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए।
नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उनले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताए। उनले भने, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भने, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन्।”
पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उनले बताए। उनले भने, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस्।” उनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए।




