‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसमा विधि जोगाउन जरुरी छः नेता सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन्।

उनले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए। ‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ? पार्टीको समस्या हामी आफैं समाधान गर्ने हो’ नेता सिंहले भने, ‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ। आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ।’ पार्टीभित्रका भजन मन्डलीले नेतृत्वलाई अलमल्लमा पारिरहेकाे समेत बताए। आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए।

इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागि सबै नेता कार्यकर्ता लाग्नु पर्ने उनको धारणा छ। उनले १३ औं महाधिवेशनपछि कांग्रेस इतिहासको कम्जोर अवस्थामा आइपुगेको बताए। अहिलेकै अवस्था कायम रहे राष्ट्रियसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ।

विवाद मिलाउनु पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए। केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरेको उनले बताए। साथै उनले सदस्यता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्यय भएको समेत बताए। तपाईं हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो। विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मस्न हुँदैन।

हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ। पार्टीभित्रको बेथिती र विकृत अन्त्यका लागि नयाँ पूस्ता आउनु पर्ने उनको धारण थियो। विधि र पद्धतीको पालना गर्नु पर्छ भन्ने पार्टीले नै विधिको शाशन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उनले टिप्पणी गरे। देशमा लोकतन्त्र जोगाउनको लागि पनि कांग्रेसभित्र विधिपद्वती जोगाउन आवश्यक रहेको उनको भनाइ थियो।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ। सक्षम र प्रभावकारी पार्टीको रुपमा स्थापना गर्न पनि पहिले पार्टीभित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ।’ उनले थपे, ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ।’ त्यस्तै नेता सिंहले आगामी महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए। पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू सभापति बन्नु पर्ने उनको तर्क थियो। पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दुःख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनको दाबी थियो।

‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले पत्याउँदैनन्।’ उनले भने, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ। विधि र पद्धती जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ।’ फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे। उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिरसमेत गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री