राष्टपति भण्डारीले आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बुद्ध मूर्ति अनावरण गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी जाँदैछिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समेत सहभागी हुनेछन् । शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

लुम्बिनीमा आएपछि सबैभन्दा पहिला त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्ने छिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यसपछि लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन गरेर राष्ट्रपति भण्डारी गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम रहेको राईले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आज अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय किलो तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

उक्त बुद्ध मूर्तिलाई गत हप्ता बौद्ध भिक्षुहरूद्वारा मन्त्रोच्चारण गरि सिद्धार्थनगर नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति ¥यालीसहित बिमानस्थलमा ल्याएर राखिसकिएको छ । मूर्ति अनावरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खांण पनि आउने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले हिजो (शनिबार) मा मुक्तिनाथ र ढोरपाटन क्षेत्रको अवलोकन, भ्रमण गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री