काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरूलाई मताधिकार दिन नसकिने बताएका छन् । हिजो (शनिबार) गैर आवासीय नेपाली सङ्घ (एनआरएन) युकेद्वारा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘विदेशी नागरिकता लिइसकेका नेपालीहरूलाई मताधिकार दिन सकिँदैन । त्यसका लागि संविधान नै बद्लुन् पर्ने हुन्छ, जुन तत्काल सम्भव छैन’ प्रधानमन्त्री देउवाले भने । जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरूलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने ।
उनले पर्यटकहरूलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए । गत वर्ष कोभिड–१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन नराइभल भिसा दिन स्थगित गरिदिएको थियो । प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए ।
मातृभूमिमा बेलायतको लगानी भित्र्याउन आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैर आवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा शनिबार भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।
गैर आवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञा प्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
गैर आवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहा मगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डनमा रहेका प्रधानमन्त्री शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी भएका छन् ।



