सनराइज क्यापिटलको एघारौं साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा शुक्रबार सम्पन्न भएको छ।

उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ। साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने रु. ८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्यसमेत सक्रियरुपमा संचालन गर्दै आम लगानीकर्ताहरुलाई सुदृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ।

साथै यस क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराईज फस्ट म्युचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आइरहेको छ। सनराईज फस्ट म्युचुअल फण्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (करसहित) प्रतिफल वितरण गरिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप