प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन्।
प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा बताएका छन्।
प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरे। सर्वोच्च अदालतमा हिजो र आज पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन्।
प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सोमबार बस्ने भनिए पनि न्यायाधीशहरु उपस्थित नभएका कारण बस्न सकेन। प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरु पूर्ण बैठकमा नगएपछि बैठक बस्न सकेको थिएन। बुधबार फेरि प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल हुनेछ।




