काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नाे जीवनकाल भरि संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन्।
नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नु पर्ने त्यागकाे भावना नसिकेकाले अहिले राजनीति प्रति निरासा छाएकाे उनले बताए।
आज गणेशमान सिंह फाउण्डेसन वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेकाे भूमिकाकाे स्मरण गर्दै खेल मार्फत नयाँ पुस्तामा गणेशमान सिंहकाे व्यक्तित्व पुर्याउनु पर्ने बताएका हुन्।
वीर गणेशमान सिंहले उनको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफैं प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्विकार गरेकाे स्मरण गर्दै नेता सिंहले ‘उहाँको मनसाय राजाले बनाएको प्रधानमन्त्री भन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेकाे समेत बताए।
समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढिरहेकाे बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए है भन्ने कुरा नयाँ पुस्तासम्म पुर्याउन जरुरी रहेकाे समेत बताए।
यस्ता टुर्नामेण्टले नेपालका खेलाडीलाई अवसर हुनसक्ने भन्दै उनले अहिले खेलकुदलाई प्रोत्साहन गर्न सरकारले समेत विशेष ध्यान दिनु पर्ने बताए। खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले राष्ट्रलाई योगदान पुर्याउनेसमेत उनले बताए।
आजबाट सुरु भएकाे याे प्रतियाेगिता १६ गते सम्म चल्नेछ।
प्रतिकृया दिनुहॊस