काठमाडाैँ । नेपाल बार एसोसिएसनको सल्लाहकार समिति बैठक आज बस्दै छ । बिहान ११ बजे बार कार्यालयमा बस्ने भएको छ । सोमबार बसेको बार बैठकको निष्कर्षबारे थप छलफल गर्न सल्लाहकार समितिको बैठक बोलाएको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।
सल्लाहकार समितिको बैठकपछि बारले अन्तिम कदम चाल्ने श्रेष्ठले बताए । सोमबारको बैठकले दुई कारणले निकास (राजीनामा) दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अदालतको सुधारसम्बन्धी बुझाएको प्रतिवेदनअनुसार गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न रुची नदेखाएको र कार्यपालिकासँग मन्त्रिपरिषद्देखि संवैधानिक नियुक्तिमा भागबण्डा खोजेकोसँगै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारेको मुद्दालाई रोक्न डा.गणेश रेग्मीको मुद्दा दर्ता गराएकाले निकास दिनुपर्ने निष्कर्ष बारले निकालेको थियो ।
जबराले भदौ २८ गते असोज ४ गते मितिबाट संवैधानिक इजलास गठन गर्ने र त्यहीबाट निकास दिने सहमति गरेका थिए । त्यो पनि जबराले तोडेको आरोप बारको छ । असोज मसान्तदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने भनिएकोमा त्यसलाई लागू गर्न पनि प्रधानन्यायाधीश जबरा अनिच्छुक देखिएको बारले जनाएको छ ।
यसले गर्दा जबराबाट न्यायालयमा देखिएको समस्या समाधान हुन नसक्ने र न्यायापालिकालाई बन्धकमा राख्न नहुने निक्र्योल बारको रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।



