नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नु पर्ने बताएका छन्। देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएकोमा जोड दिए।
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखेका हुन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरे। संविधान अनुसार बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उनले यही सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने स्पष्ट पारे।



