विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन्। आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।
गृह मन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ। प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ।
उनका अनुसार बाढी/पहिराेमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन्।




