नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ।
खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्। हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए। यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ। यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो।
दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ। यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ।
डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक/एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ।
यस्तै बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।




