बस्तीमा पस्यो महाकाली नदी, तटीय क्षेत्रका सयौं घर डुबानमा

काठमाडाैँ । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढी बस्तीतिर पस्दा तटीय क्षेत्रका सयौं घरहरु डुबानमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका–१० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घर परिवार प्रभावित भएको जानकारी दिए । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताएका छन् ।

आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकालीलगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।

सुरक्षाकर्मीको संयुक्त टोली परिचालन
प्रभावित परिवारहरुको उद्धार तथा राहतका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका संयुक्त टोलीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उद्धार तथा राहतको कार्यमा जिल्लामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुको सहयोग लिने काम समेत भइरहेको उनले बताए ।

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखिएको छ । भिमदत्त नगरपालिका– १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ । डिएसपी न्यौपानेका अनुसार महाकाली नदीमा बिहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सतह अहिले बढेर चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको छ ।

महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी आएको उनले बताएका छन् । ‘महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी आएको छ,’ डीएसपी न्यौपानेले भने, ‘पानीको बहाव बढ्ने क्रम अझै जारी छ ।’

नदीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको कालोपत्रे सडक पनि कटान गर्न थालेको छ । सडकको एकातर्फको आधा भाग नदीले कटान गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप