नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ।
विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए। “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”, अध्यक्ष अधिकारीले भने।
समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ। नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।
प्रतिकृया दिनुहॊस