मुख्य सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य

काठमाडौं । सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी प्रस्ताव गर्न लागिएको छ ।

हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ । मुख्यसविच र सचिवको कार्यकाल छोटो पार्न संघीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उच्च तहमा आन्तरिक गृहकार्य भइरहेको स्रोतले बतायो ।
संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेवा ऐनको विधयेक सरकारले फिर्ता लिने निर्णय गरेको छ । उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको स्रोतले बतायो । परिमार्जित विधेयक अध्यादेशको रुपमा ल्याउने या संसद्मा पेस गर्ने भन्ने विषयमा टुंगो नलागेको स्रोतले बतायो ।

‘अहिलेको कानुनअनुसार सचिवको कार्याकाल पाँच वर्षसम्म कायम राख्ने हो भने हालै सहसचिवमा प्रवेश गरेका कर्मचारीलाई सचिव पदमा पुग्न कम्तीमा १४ वर्ष लाग्छ । दुई-तीन वर्षअघि सहसचिव भएका कर्मचारीलाई सचिवमा बढुवा हुन कम्तीमा १० वर्ष लाग्छ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने, ‘त्यसैले कर्मचारी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र कर्मचारीहरूको वृत्ति विकासका लागि पनि सचिव र मुख्यसचिवको कार्याकाल छोट्ट्याउनु जरुरी छ ।’

प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीहरू पनि मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउनुपर्ने तर्क राख्छन् । प्रधानमन्त्री कार्यालयका एक उपसचिव भन्छन्, ‘सचिव सरहका नेपाली सेनाका विशिष्ट श्रेणीका जवानको कार्यकाल तीन वर्ष मात्र छ । तर कर्मचारी क्षेत्रमा मात्र किन पाँच वर्ष बनाउनु पर्‍यो ?’ नेपाल प्रहरीमा पनि सचिवसरहका उच्च जवानहरूको कार्यकाल चार वर्ष कायम गरिएको छ ।

मुख्यसचिव र सचिवको कार्याकाल तीन वर्ष र दुई वर्ष अन्तर्राष्ट्रिय अभ्यास भएको संघीय मामिला मन्त्रालयका उच्च कर्मचारीहरू बताउँछन् । मुख्यसचिव र सचिवको कार्यकाल अहिलेकोभन्दा छोटो बनाउन कर्मचारी संघ, संगठनका प्रतिनिधिहरूको पनि सुझाव छ । नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव यज्ञराज अर्यालले मुख्यसचिव र सचिवको कार्याकाल छोट्टयाउन बहस र गृहकार्य हुनु सकारात्मक भएको बताए ।

कर्मचारीहरूको वृत्ति विकासका लागि पनि कार्याकाल छोट्ट्याउन अति आवश्यक भएको उनको भनाइ छ । मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउँदा सहसचिवहरू सचिवमा र सचिवहरू मुख्यसचिवमा बढुवा हुने सम्भावना अहिलको भन्दा धेरै बढी हुन्छ । स्रोतका अनुसार निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गर्ने विषयमा पनि उच्च तहमा गृहकार्य भइरहेको छ । नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस