भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट संचालन

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा संचालनमा आएको छ । टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा टेलिकमले जेठमसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले २०७४ बैशाख २१ मा नेपाल टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न टेलिकमलाई जिम्मेवारी दिएको थियो ।

कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका २०५ र रसुवा जिल्लाका ४० स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

ति जिल्लाका ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा, सेवा सञ्चालन भएको दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस