ओलीको प्रचारप्रति के भन्छन् प्रतिनिधि ?

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीको प्रचारात्मक शैलीप्रति लिएर नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको छ । पार्टीले अनुशरण गर्दै आइरहेको सामूहिकतालाई ओझेलमा पार्ने गरी ओलीको प्रचार भएको भन्दै प्रतिनिधिले असन्तुष्टि जनाएका हुन् ।

महाधिवेशन प्रतिनिधि तथा अनुशासन विभागका केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले प्रचारको यस्तो शैलीको पार्टीभित्र आलोचना भएको बताए । ‘महाधिवेशनस्थलमा छिर्ने बित्तिकै आम कार्यकर्ता माझ कस्तो ‘इम्प्रेसन’ पर्छ ? ओलीजीले आफ्ना तस्बिर राखेकोबारे पार्टीमा भित्रभित्रै आलोचना भएको छ,’ उनले भने, ‘पार्टीभित्रका सचेत, बौद्धिक र लामो समयसम्म पार्टीलाई योगदान गरेका नेता–कार्यकर्ताले यस्तो शैलीलाई ठिक मानेका छैनन् ।’

खोटाङका महाधिवेशन प्रतिनिधि दीपनारायण रिजालले माक्र्सवाद र लेनिनवादलाई बेवास्ता गर्न खोजिएको बताए । उनले भने, ‘हामी माक्र्स, लेनिन र एंगेल्सको विचारधारामा विश्वास गर्छौ । यही विचारधारामा आधारित संगठनात्मक सिद्धान्तलाई आत्मसात् गरेर संगठन विस्तार गरेका हुन्छौं । त्यसलाई नै ओझेलमा पार्न खोजियो ।’

उनले राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा समेत यो विषयलाई उठाएको जानकारी दिए । ‘मैले अबका हरेका कार्यक्रममा मार्क्स, एंगेल्स र लेनिनका फोटाहरू अनिवार्य राखेर दर्शनमा बढी वकालत गर्न आवश्यक छ भन्ने सुझाब दिएको छु,’ उनले भने ।

विधान महाधिवेशन प्रतिनिधि सरिता गिरी यादवले भने प्रचारलाई नकारात्मक रूपमा लिन नहुने बताइन् । उनले प्रचार आवश्यकताकै आधारमा गरिएको दाबी गरिन् । ‘केपी ओलीलाई देखाउन खोजिएको होइन, कार्यकर्ता र जनताले नै हेर्न खोजेका छन् । जननेता मदन भण्डारीपछिको नेता ओली मात्र हुन् । यत्तिको प्रचारलाई त्यो रूपमा हेरिनु हुन्न,’ उनले भनिन् ।

उनले यसलाई शक्ति प्रदर्शनका रूपमा हेर्नुपर्ने बताइन् । ‘यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भनिन्, ‘लोकतान्त्रिक पद्धतिमा शक्ति प्रदर्शन नभए त कसरी थाहा पाउने तीन करोड नेपालीले एमाले छ भनेर ?’

प्रचारको यस्तो शैलीबारे केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि धर्मनाथ यादवले फोटो प्रदर्शन गरेर कोहीभन्दा कोही ठूलो नहुने बताए । उनले अहिले प्रचारात्मक संस्कृति बढेको भन्दै एमालेले पनि त्यही शैली अपनाएको धारणा राखे । ‘ठूलो–ठूलो फोटो राखेर केही नराम्रो हुने होइन । हेर्ने आफ्नो–आफ्नो दृष्टिकोण हो । फोटो राख्दैमा कोही भन्दा कोही ठूलो हुँदैन ।’

एमालेभित्र अहिले स्पष्ट रूपमा दुई धार देखिएको भन्दै अनुशासन विभागका केन्द्रीय सदस्य पौडेलले भने, ‘पार्टीभित्र अहिले सबथोक केपी बा हो भन्नेहरूको एउटा पंक्ति छ । त्यसो होइन, पार्टी, विधि, नीति र विचार प्रधान हो भन्नेहरूको अर्को पंक्ति छ । उहाँ (ओली) को यो खालको तामझामप्रति असन्तुष्टि देखाउने साथीहरू हुनुहुन्छ । तर, त्यस्ता साथीहरूले देखिने गरी बोल्न सकिरहेको अवस्था छैन । जति बाहिर तामझाम छ, भित्रभित्रै त्यति नै आशंका पनि छ ।’ नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस