नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दोलखाको १४औँ जिल्ला अधिवेशन शुक्रबारदेखि चरिकोटमा सुरु भएको छ। कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाका सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर जिल्ला अधिवेशन सुरु गरेको हाे। कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो।
दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो। हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा कांग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो।
सभापतिमा चारको उम्मेदवारी
कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चारजनाले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ। समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ। संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहुनभएका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्दै छन् भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी माहोलमा देखिएको छ।
त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन्। सभापतिमा चारजना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पुर्याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ। केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ।
क्षेत्रीय र स्थानीय अधिवेशन सम्पन्न
नेपाली कांग्रेस दोलखाले दुई निर्वाचन क्षेत्र र नौ स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। क्षेत्र नं १ मा सर्वसम्मत रुपमा शुक्रराज तामाङ सभापति भएका छन् भने उपसभापतिमा सुवास तामाङ निर्वाचित भएका छन्। त्यस्तै क्षेत्र नं २ मा बुधबार भएको निर्वाचनमा चित्र दाहाल सभापतिमा र विकास खड्का उपसभापतिमा निर्वाचित भएका छन्।
प्रतिकृया दिनुहॊस