परराष्ट्रमन्त्री खड्का राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान

परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति न्युयोर्क प्रस्थान गरे। गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनः स्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनः जागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन्।

भारतका विदेशमन्त्रीबाट बधाई
नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त भएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन्।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन्। यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताए।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा गएराति त्यहाँ पुगेका छन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरि स्थगन गरिएका बेला हुन लागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस