केपी ओलीले लगाए सरकारलाई खर्बौं रुपैंयाँकाे सेटिङ गरेकाे आरोप

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको खेल गरेको आरोप लगाएका हुन्।

सरकारले सेटिङमा अर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि करको दर हेरफेर गरेको उनले बताए। आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे।

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे। चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए।

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पुर्याउनु पर्ने उनले बताए। सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे। उनले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताए।

अध्यक्ष ओलीले आफ्ना पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए। जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानूनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री