महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कुटर काठमाडौं उपत्यकाबाट फेला पारेर सवारी धनीहरुलाई बुझाएको बताए। उनले मनोबल उच्च बनाउनका लागि घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको पनि बताए।
प्रमुख भट्टराईले प्रहरी कर्मचारीहरुलाई आफ्नो आचरण र व्यवहारमा शुद्धता ल्याउन र परिवर्तन गर्न उत्प्रेरित गराउनका लागि गरिएको कार्यक्रम भएको बताए। उनले आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई कानूनी कारबाहीमा ल्याउनु पर्ने कुराको विकास गरिरहेको भन्दै यसले समाजमा एक किसिमको राम्रो सोचको विकास गर्ने विश्वास व्यक्त गरे।




