कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ। नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो। सङ्घको विज्ञप्तिअनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मे महिनामा प्रति मेट्रिक टन १३६३ डलर पुगेको छ।
यस्तैगरी, प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मे महिनामा मा १४९५ डलर पुगेको छ। एक वर्षमा असामान्यरूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको सङ्घले जनाएको छ। यस्तै सङ्घले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ। अर्जेन्टिनाको क्रुड सोयाबिन तेलको मूल्य घटेर १०९५ र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य ११६० भएको थियो।
सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्टक रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ। सङ्घका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ। “अन्तर्राष्ट्रियरूपमा नै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो। गत अगष्ट २० को रिपोर्टअनुसार सोयाबिन तेल १३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य १३३० अमेरिकी डलर भएको छ”, विज्ञप्तिमा भनिएको छ।
पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायका रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन्। विभागले केही समयअघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो।
नेपालमा हाल २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योग सञ्चालित अवस्थामा छन्। सो उद्योगले तेलका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट आयात गर्दै आएका छन्। नेपालमा तेल प्रशोधन गरी उद्योगीले अन्य देशमा समेत निर्यात गर्दै आएका छन्।
प्रतिकृया दिनुहॊस