नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।.
अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनु पर्ने आवश्यकता औंल्याएका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए। उनले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिष्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गरे।




