भीम रावलले यसरी गुमाए सुदूरपश्चिममा शक्ति

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढथापाले आइतबार नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत थिए । नेकपा (एस)मा सनाखत गरेपछि  कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । उनले कुनै नेतालाई भन्दा पनि विचारलाई रोजेको प्रतिक्रिया दिए ।

यस्तै, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्र सदस्यसमेत रहेको कार्यपालिका सदस्य जितबहादुर निशानी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जयन्ती बोगटी, चौरपार्टी गाउँपालिका- ४ पायलका अध्यक्ष हर्क लोहारले पनि नेकपा (एस) रोजेका छन् ।

यस्तै, चौरपार्टी गाउँकार्यपालिका सदस्य सपना कुमाल, वडा सदस्य भरत खड्का, सुरत कुँवर, बिस्नुदत्त जोशी, भाना लुहार पनि नेकपा (एस)मा खुलेका छन् । यस्तै, जिल्लाको मेल्लेख गाउँपालिका- ६ नन्देगडाका वडा सदस्य कल्धरादेबी बिकले नेकपा एमाले परित्याग गर्दै नेकपा (एस) मा सनाखत गरेकी छन् ।

चौथोमा झर्‍यो पहिलो पार्टी एमाले
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले चौथो दल बनेको छ । आइतबार थप तीन सांसदले एमाले परित्याग गर्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले चौथोमा झरेको हो ।

नेकपा (एस) मा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्वप्रदेश राज्यमन्त्री प्रकाश शाह र पूर्व सचेक तारालामा तामाङले सनाखत गरेका छन् । यसअघि उनीहरु एमाले उपाध्यक्ष भीम रावलको विश्वास पात्रका रुपमा चिनिन्थे । सांसदले सनाखत गरेपछि नेकपा (एस) का प्रदेश सांसदको संख्या १३ पुगेको छ ।

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरू सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए ।

१३ सांसदले नेकपा (एस)मा सनाखत गरेसंगै नेकपा एमालेका सांसद संख्या ११ मा झरेको छ । नयाँ पार्टीमा सनाखत गर्ने मन्त्री सोडारीले अझै अझै एक/दुई जना सांसदले नेकपा एसमा सनाखत गर्ने दाबी गरेका छन् ।

ढिलोगरी सनाखत गरेपनि मन्त्री सोडारी पार्टी विभाजन भएदेखि नै नेकपा (एस)मा खुलिसकेका थिए । सांसदहरूलाई नेकपा (एस) मा तान्न सक्रिय रहेका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे । ‘सांसदको संख्या १५ सम्म पुग्नसक्छ । केही सांसदसंग छलफल भइरहेको छ’ उनले भने ।

सोडारीसहितका नेताहरुले यसअघि नेपाल समूहमै रहेका र ओली समूहमा रहेका केही सांसदसँग कुरा गरिरहेको बताइएको छ । १३ सांसदको सनाखतसँगै नेकपा (एस) र माओवादी केन्द्रका सांसद बराबरी भएका छन् । एमाले र माओवादी पहिलो र दोस्रो नम्बरमा आउँदा १२ सांसदसहित नेपाली कांग्रेस तेस्रो ठूलो दलका रुपमा कायमै छ । ११ सांसदसहित एमाले चौथो र दुई सांसदसहित जनता समाजवादी पार्टी (जसपा) पाँचौं स्थानमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने बिनु यादव पक्राउ

काठमाडौँ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु …

प्रतिकृया दिनुहॊस