सडक भासिए पनि नारायणगढ-मुग्लिन रुटमा नियमित यातायात सञ्चालन

काठमाडाैँ । नारायणगढ-मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । चौधकिलो क्षेत्रमा सडक फराकिलो भएकाले एकाछेउको सडक भासिए पनि दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको प्रहरीको भनाई छ ।

डिभिजन सडक कार्यालय, चितवनले पनि नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको जनाएको छ । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आएझँं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

चौधकिलो भन्ने ठाउँमा दुई मिटर गहिरो गरी ३८ मिटर सडक भासिएको छ । ‘त्यहाँ बढीमा चार मिटर सडक भासएको छ,’ खनालले भने, ‘त्यो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएकै आधारमा यातायात रोकिँदैन ।’ उनले भासिएको क्षेत्र बाहेकको भागबाट दुईतर्फी सवारी सञ्चालन भइरहेको जानकारी दिए ।

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले बताए । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी भइरहेको छ । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा अहाएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने छ । सडक भासिएको ठाउँमा भने यातायात सञ्चालनमा रहेको उनले बताए । पछिल्लो समय वर्षा सुरु भएसँगै एकाएक चौधकिलोमा सडक भासिएको हो । बिहीबारदेखि भासिन सुरु भएको यो ठाउँको सडक बिहीबार अझ धेरै भारिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री