काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार पारसले आफ्नो सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि नेपालको क्रिकेटमा सधै लागि रहने बताएका छन् । पारसले नेपालका लागि अन्तराष्ट्रिय खेलमा १० एकदिवसीय, ३३ टी-२० खेल खेलेका छन् । उनले एक दिवसीय खेलामा एक शतक र एक अर्धशतकसहित ३१५ रन बनाएका छन् भने टी-२० मा एक शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका छन् । त्यस्तै उनले एकदिवसीय खेलमा ९ र टी-२० अन्तर्राष्ट्रिय खेलमा ८ विकेट लिएका छन् ।
पारसले लेखेका छन् :-
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।
२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु
क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौं।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।
मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछौं भन्ने विश्वास लिएको छु ।
प्रतिकृया दिनुहॊस