काठमाडौँ । स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) १९ सेम्टेम्बरदेखि युएईमा शुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ सेप्टेम्बरमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच पहिलो खेल हुने जानकारी दिएको छ ।
गत मे मा भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि खेल स्थगित गरिएको थियो । आइपिएलको फाइनल खेल १५ अक्टोबरमा हुने भएको छ । यसको दुई दिन पछि नै आइसीसीको टी-२० विश्वकप पनि हुदै छ । बोर्डले २७ दिनमा कुल ३१ खेल खेलिने जानकारी गराएको छ ।
नयाँ तालिका अनुसार पहिलो क्वालिफायर खेल १० अक्टोबर, इलिमिनेटर खेल ११ अक्टोबर, दोस्रो क्वालिफायर १३ अक्टोबरमा खेलिने छ । बोर्डले युएईमा आइपिएल टिम, खेलाडी, अफिसियल सबै कोरोनाको स्वास्थ्य मापदण्ड अन्तर्गत रहने बताएको छ ।
गत मे ४ मा केहि खेलाडीलाई कोरोना संक्रमण भएपछि बोर्डले प्रतियोगिता नै स्थगित गरेको थियो । अहिलेसम्मको अंक तालिकामा दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अंक छ भने चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरको ७-७ खेलमा १०-१० अंक रहेको छ ।
त्यस्तै मुम्बई इण्डियन्सको ७ खेलमा ८ अंक छ भने राजस्थान रोयल्सको ७ खेलमा ६ अंक र पञ्जाब किंग्सको ८ खेलमा ६ अंक रहेको छ । त्यस्तै कोलकोता नाइटराइडर्सको ७ खेलमा ४ अंक र सनराइजर्स हैदरावादको ७ खेलमा २ अंक रहेको छ ।




