युनाइटेड मेवा खोलामा सिटिजन्स बैंकको अगुवाइमा ७ बैंकले लगानी गर्ने

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा निर्माण हुने ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा अन्य ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।

आयोजनामा सिटिजन्स बैंकसहित कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैँकले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । ६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा ऋण लगानी गर्ने गरी प्रबद्र्धक कम्पनी एवम् बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

परियोजनाको अनुमानित लागत ९ अर्ब रुपैयाँमा बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब, नेपाल एस.बि.आइ बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब, र सिभिल बैंकबाट ५० करोड लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रबद्र्धकहरूबाट जुटाइने छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री